काठमाडाैँ : व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।
डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोज्दै छ । अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । मालपोतले भेटिएको जग्गा रोक्का गरेको छ भने थप जग्गा खोज्दै छ । व्यक्तिका नाममा सारिएका जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरण पनि खुलेको हो । ‘रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ,’ मालपोत स्रोतले भन्यो, ‘यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको छ ।’
डिल्लीबजार मालपोत कार्यालयले बालुवाटारको ४१७ कित्ता जग्गा रोक्का गरेको छ । त्यसमध्ये अवैध रुपमा व्यक्तिको नाममा लगिएको जग्गा तीन सय ३४ कित्ता छ । मालपोतले सरकारको नाममा रहेको ८३ कित्ता पनि रोक्का गरेको छ । व्यक्तिको नाममा लगिएको ३३४ कित्ता जग्गाको जम्मा क्षेत्रफल ९९ रोपनी छ । बालुवाटारमा व्यक्तिको नाममा लगिएका अन्य जग्गाको खोजी भइरहेको पनि मालपोत कार्यालयले जनाएको छ।आजकाे नयाँ पत्रिकामा समाचार छ।