काठमाडौँ, बैशाख १९
उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता हुने भएको छ । दुईपार्टीबीच एकतापछि नयाँ शक्तिका संयोजक भट्टराई पनि सत्तारुढ दलका सांसद बन्ने छन ।
तीन महिनायता जारी वार्ता प्रक्रियाले केही दिनमै मूर्तरूप पाएर दुई दल एक हुने भएका हुन् । वैशाख २० र २१ गते बस्ने दुई दलको केन्द्रीय समिति बैठकले एकतामा जाने निर्णय गर्ने भएका छन् । सम्भवत वैशाख २३ गते यी दुई दलबीच एकताको घोषणा हुने बताइएको छ ।
उप–प्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता प्रक्रिया अघि बढेको फोरमका निर्वाचन समितिका प्रमुख शिवजी यादवले बताए । सहमति अनुसार दुवै अध्यक्ष राखिनेछ । वरियतामा बाबुराम अगाडि हुनेछन, त्यसपछि उपेन्द्र रहनेछन् भने तेस्रोमा अशोककुमार राई । दुई पार्टीले पार्टीको बैचारिक सिद्धान्त र झण्डामा करिब कुरा मिलाइसकेका जनाएको छ ।
नयाँ पार्टीको केन्द्रीय कमिटीको भागवण्डा पनि दुई दलले विभाजन गरिसकेका छन् । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भएको थियो। तर नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन ।