१६ जेठ २०७६,विराटनगर
विराटनगरस्थित सेन्ट जोसेफ उच्च माध्यमिक विद्यालयले अन्तराष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको छ ।
विद्यालय भारतको पंजाबमा मे २५ मा सम्पन्न भएको इन्टरनेशल स्कुल अवार्डमा बेस्ट इन्फ्रास्ट्रक्चर अफ दि इयर अवार्ड हासिल गर्न सफल भएको हो । सो विद्यालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरि पुरस्कारका बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सेन्ट जोसेफ उच्च माध्यमिक विद्यालयका ब्यवस्थापक रोहितजंग थपलियाले आयोजक इन्टरनेशल स्कुल अवार्ड ग्लोबलले विश्वका ९ हजार बढी विद्यालयमध्येबाट सेन्ट जोसेफलाई सो पुरस्कारकालागि छनौट गरेको जानकारी दिए । विद्यालयको उत्कृष्ट भौतिक संरचना र शिक्षण सिकाई पद्धतिलाई अनुगमन र मापनगरि सेन्ट जोसेफले सो अवार्ड हासिलगर्न सफल भएको उनले बताए ।
विश्वका ५१ देशका ९ हजार ६ सय ७३ वटा स्कुल सहभागि प्रतिस्पर्धामा नेपालका अन्य २ निजी स्कुलले समेत अन्य विधामा पुरस्कार हासिल गरेको उनले जानकारी दिए । नेपालबाट विभिन्न ७० वटा विद्यालयले सो अवार्ड प्रतियोगितामा नोमिनेशन गराएका थिए ।
विद्यालयले सो अवार्ड हासिल गर्न सफल हुनु प्रदेश एककै गौरव रहेको बताउदै थपलियाले अब विद्यालयलाई आइएसओ मा सर्टिफाइड हुन समेत सहज हुने बताए । सेन्ट जोसेफले विद्यालयतहदेखि विज्ञान, ब्यवस्थापन, कम्प्युटर र होटल म्यानेजमेन्टको अध्यापन गराउदै आएको छ ।