७ असार, काठमाडौँ ।
लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम बढ्दै गएको छ । शुक्रबार साँझ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको लोकसेवा आयोगले जनाएको छ ।
आयोगका अनुसार खुलातर्फ २ लाख ३२ हजार ११३, जनजातितर्फ २५ हजार ५७४, मधेसीतर्फ १४ हजार ९८०, दलिततर्फ १ हजार ८२८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाले आवेदन दिएका छन् । आवेदनबापत ५ करोड २० लाख ५६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको पनि आयोगले जनाएको छ ।
आवेदन फारम भर्ने समय तीन दिन भएकाले अझै यो संख्या बढ्ने अनुमान गरिएको आयोगले जनाएको छ । गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन खुलाएको थियो । तर प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असारसम्मका लागि थप गरेको छ ।
सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेपछि गत मंगलबार बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।
अझै विवादमै लोकसेवा
विवादित बनेको आयोगले खुलाएको विज्ञापन सम्बन्धमा परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषय टुंगो लग्न सकेको छैन । यही बुधबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
सुरूमा अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए । लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट पनि परेको छ ।