१३ असार, काठमाडौँ ।
नेपाल कन्सर्टका लागि गायक उदित नारायण झाका सुपुत्र गायक आदित्य नारायण झा काठमाण्डौँ आउँने निश्चित भएको छ ।आदित्यले जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिने भएका छन् ।
‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले बलिउडसँगै नेपाली हिट गीत प्रस्तुत गर्ने जनाईएको छ । सिंगरसँगै अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शोज् होस्ट गरेर चर्चामा आदित्यले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।
‘रंगीला’ फिल्म मार्फत अभिनयमा डेव्यु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् । उनले ‘शापित’बाट बलिउडमा अभिनेतको रुपमा डेब्यु गरेका थिए ।
उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा नेपाल आउने बताएका छन् । नेपाल आएसँगै आदित्य पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकी आयोजना हुने कार्यक्रमको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् ।
उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ् हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ ।दर्शकको डिमाण्डकै आधारमा आदित्यलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ ।