काठमाडौं : नक्सापास र स्वीकृतिबिनै टेकुस्थित पचली भैरव गुठीको जग्गामा भवन निर्माण गरिएको पाइएको छ । काठमाडौं महानगरपालिका–१२ को सिट नम्बर १०२–११४४–०६ अन्तर्गत कित्ता नम्बर १९६।१९८ को पचली भैरव गुठीको नाममा दर्ता स्रेस्ता कायम भएको २ रोपनी ८ आना जग्गा क्षेत्रमा अवैधानिक रूपमा भवन निर्माण गरेको पाइएको हो ।
महेन्द्र सरस्वती आधारभूत माध्यमिक विद्यालयले स्वीकृति नलिई भवन निर्माण गरेको गुठी संस्थानले पुष्टि गरिसकेको छ । भवन निर्माणको विषयमा गुठियारहरूले उजुरी गरेपछि संस्थानले गुठियार र विद्यालय प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले भवन निर्माण गर्दा आवश्यक प्रक्रिया पूरा नभएको पाइएको बताए । ‘कानुनी प्रक्रिया पूरा गरेर भवन निर्माण गर्नुपर्नेमा पूरा नभएको देखियो,’ थपलियाले भने ।,यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।