एजेन्सी, साउन ६
हालै इङ्ल्यान्डमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफुबाट गल्ति भएको अम्पायर कुमार धर्मसेनाले स्वीकार गरेका छन् । चौतर्फी विरोध भएपछि उनले फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा गल्ती भएको स्वीकार्दै त्यसबाट आफुलाई पछुतो नभएको बताएका हुन् ।
लर्ड्स मैदानमा भएको इङ्ल्यान्डम र न्युजिल्यान्डबीचको फाइनल खेल अन्तर्गत अन्तिम ओभरको चौथो बलमा इङ्ल्यान्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो । त्यस ओभरमा थ्रोमार्फत एक अतिरिक्त रन अम्पायरको गल्तीका कारण भएको थियो । सोहि एक रनले गर्दा इङ्ल्यान्ड र न्युजिल्यान्डको खेल बराबरी भएको थियो । दुवै टोलीको समान दुई सय ४१ रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । संयोगवस सुपर ओभरमा पनि खेल बराबरी भएपछि सर्वा्धिक बाउन्ड्री हानेको आधारमा आयोजक इङ्ल्यान्डलाई च्याम्पियन बनाइएको थियो ।\
यस घटनापछि अम्पायर र आईसीसीको समेत विश्वभर विरोध गरिएको थियो । श्रीलंकन टोलीका पूर्व खेलाडी समेत रहेका धर्मसेनाले आफु मैदानमा रहेका कारण रिप्लेमा ब्याट्सम्यान क्रस गरेको वा नगरेको हेर्ने सुविधा नभएकोले गम्भीर त्रुटि भएको बताएका छन् । धर्मसेनाले भनेका छन् ‘टेलिभिजनमा रिप्ले हेर्दा गल्ती भएको देखिएको छ । म यसलाई स्वीकार गर्दछु । मैले निर्णय गर्दा म्याच अफिसियलसँग समेत छलफल गरेर रन दिएको थिएँ । उक्त निर्णयप्रति मलाई कुनै पछुतो छैन।’
फाइनल खेलमा धर्मसेनासँगै दक्षिण अफ्रिकी अम्पायर मारिस इरास्मसले पनि अम्पायरिङ गरेका थिए । विश्वकपको आईसीसी र अम्पायरबाट गल्ती भएको भन्दै अहिले विश्वभर विरोध भइरकेको छ । न्युजिल्यान्डमाथि अन्याय भएको भन्दै कतिपयले दुवैलाई विजेता बनाउनु पर्ने, फेरी अर्को ओभर खेलाउनु पर्ने जस्ता फरक फरक आवाज उठाउँदै आएका छन् । यसबारेमा आईसीसीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।