६ साउन, काठमाडौँ ।
पछिल्लो समय नेपालमा विदेशी लगानी प्रतिवद्धता खस्किँदै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी प्रतिवद्धता १३२ प्रतिशत घटेको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानीको अवस्था निराशाजनक देखिएको हो ।
उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक २०७४/७५ मा ५५ अर्ब ७५ करोडको लगानी प्रतिबद्धता आएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा २३ अर्ब ९४ करोड ९० लाख मात्रै विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धता ३१ अर्ब ८१ करोड १० लाखले कमि आएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योग दर्ताको प्रतिबद्धताको संख्यापनि कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा ३९९ वटा उद्योग खोल्ने प्रतिबद्धता आएको थियो भने गत आर्थिक वर्षमा ३३७ वटा मात्रै उद्योग खोल्ने प्रतिवद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योग दर्ताको प्रतिबद्धताको संख्यापनि ६२ वटाले कमि आएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योगहरुमा रोजगारी प्रतिवद्धतामा भने थोरै मात्राले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १३ हजार ९४० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको थियो भने गत आर्थिक वर्षमा १४ हजार १०२ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योगहरुमा १६२ जनालाई रोजगारी प्रतिबद्धतामा वृद्धि भएको छ ।
उद्योग मन्त्रालय अन्तरगत विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले भने-‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्वीकृती नभएकाले पनि नेपालमा आउने विदेशी लगानीमा कमी देखिएको हो ।’
फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने बोहराले जानकारी दिए । (राजाराम न्यौपाने/ विकास न्युज)

