६ साउन,विराटनगर ।
विराटनगर महानगरपालिकाले नेपाली महिला फुटबल टिमका खेलाडी,प्रशिक्षक तथा अफिसियलहरुलाई नगद सहित सम्मान गरेको छ । गएको फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म विराटनगरमा आयोजना गरिएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा उपबिजेता बन्न सफल नेपाली महिला टोलीका खेलाडी,प्रशिक्षक तथा अफिसियलहरुलाई नगद सहित सम्मान गरिएको हो ।
महानगरपालिकाले टिमका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई जनही नगद ५० हजार र प्रशंसा पत्र सहित सम्मान गरेको छ । महानगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रमकाबीच महानगरपालिकाका प्रमुख भीम पराजुली र उप्रमुख इन्दीरा कार्कीले नेपाली महिला फुटबल टिमका सदस्यहरुलाई सम्मान गरेका हुन । पाँचौ महिलासाफ प्रतियोगिता आयोजना कै दौरान महानगरपालिकाले घोषणा गरे अनुसार खेलाडी तथा टिमका सदस्यहरुलाई नगद सहित सम्मानित गरिएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले बताए ।
उनले टिमका खेलाडी सहित २६ जनालाई ५० हजार नगद सहित सम्मानित गरिएको जानकारी दिए । सो अवसरमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विराटनगर महानगपालिका सहित प्रदेश सरकारको अथक प्रयासबाट मोफसलमा पहिलोपटक साफ प्रतियोगिता आयोजना सम्भव भएको बताए ।
विराटनगरमा सफलता पुर्वक प्रतियागिता सम्पन्न भएको बताउदै उनले काठमाण्डौ बाहिरपनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजनागर्न सकिने सकारात्मक म्यासेज देशभरि गएको बताए ।