७ साउन, विराटनगर । प्रदेश १ सरकारले आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता, पाँचौ साफ महिला च्याम्पियनशिप फूटवल प्रतियोगिता र अन्तरप्रदेशीय मुख्यमन्त्री खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयद्वारा विराटनगरमा आयोजित कार्यक्रममा साफ महिला फुटवल प्रतियोगिताको उपबिजेता खेलाडी प्रशिक्षक, व्यवस्थापकलाई नगद एक लाख तथा अन्य खेलकुदका खेलाडीहरुलाई नगद पुरस्कारले सम्मान गरिएको हो । यसरी सम्मान पाउनेहरुमा खेलाडीहरु, प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २ सय ६७ जना रहेका छन । उनीहरुलाई नगद ३८ लाख ५० हजार वितरण गरिएको छ । कार्यक्रमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई फुटवलको राजधानीको रुपमा विकास गर्न उच्च प्राथमिकतामा राखेको वताए । उनले सवैखेललाई प्रोत्साहन र प्राथमिकतामा दिएको बताउदै खेलकुदको माध्यमवाट मुलुकको बिकास र समृद्धिमा टेवा पु¥याउन प्रदेश सरकारले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आइरहेको बताए ।
मुख्यमन्त्री राईले महिला साफ खेलकुदले देशको प्रतिष्ठालाई माथि उठाउने काम गरेको बताउदै आगामी प्रतियोगितामा पहिलो स्थान ल्याउन अहिले देखि नै तयारी गर्नका लागि प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने दृढता पनि व्यक्त गरे । यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुदको व्यवस्थित विकासका लागि प्रदेश खेलकद ऐन चाडै ल्याउने बताउदै खेल क्षेत्रका लागि चालु आर्थिक वर्षमा ४८ करोड बजेट छुट्टाएको जानकारी दिए । उनले विराटनगरको बैजनाथपुरमा अन्तर्राष्ट्रिय खेलकूद मैदान , धरानलाई प्रदेशस्तरीय खेल केन्द्रको सोचले सरकार अगाडि बढेको बताए ।