२० भदौ, काठमाडौँ । पर्यटन बर्ष २०२०मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बिकास तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताएका हुन् ।
नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षा बारे धेरै चासो राख्ने गरेको बताए । अहिले पनि प्रमुख पर्यटक गन्तब्य सम्मको पहुच सडक नासुधरिएको प्रमुख कार्यकरी अधिकृत जोशीले पर्यटन वर्ष २०२० सफलतापुर्वक मनाउन सडकको अवस्था र सुरक्षा चुनौती रहेको बताए ।
समितिमा सांसदहरुले काठमाडौँको सडकको दुरावस्थाले २० लाख पर्यटक कसरि तान्न सकिन्छ भनेर प्रश्न गरेका थिए । शुक्रबार समितिले पर्यटक गन्तब्य सम्म पुग्ने सडकहरुको अवस्था बारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो । छलफलमा सांसद इन्दु शर्माले चाबहिल जोरपाटी सडक खण्डको उदाहरण दिदै देशको राजधानी भित्रको सडकको अवस्था यस्तो छ भने काठमाडौँ बाहिरको अवस्था के होला भनि प्रश्न गरिन् ।
अर्का सांसदबहादुर सिंह लामाले पर्यटक गन्तब्य सम्म कस्ता कस्ता पूर्वाधार छन् कसरी काम भएको सम्म जानकारी नभएको अबस्थामा पर्यटन वर्ष २०२० सफलतापुर्वक कसरि मनाउन सकिएला भनेर प्रश्न गरे । सांसदहरुको प्रश्न सुनी सके पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको बताए ।
काठमाडौँ भित्र केहि सडकमा समस्या भए पनि काठमाडौँ बाहिर समस्या नभएको बताए । सांसदहरुले समितिमा लमजुङ्ग बेसीशहर चामे सडक,बेनी मुस्तांग सडक, सुर्खेत अछाम रामारोशन सडक, कर्णाली राजमार्ग, कोदारी राजमागर्, रसुवा स्याफ्रु सडक लगायतको सडकको अवस्था यातायात संचालन गर्न नसकिने भएको गुनासो गरेका थिए ।