२६ असोज, विराटनगर ।
आज दशैँको अन्तिम दिन अर्थात कोजाग्रत पू्र्णिमा । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ ।
आजको दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर १५ दिन लामो दशैं समापन गर्ने प्रचलन छ ।
माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास छ ।