२६ असोज, काठमाडौँ ।
शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ले शानदार सुरुवात गरेको छ । काठमाडौं र मोफसलका अधिकांश हलहरुमा शुक्रबार र शनिबार हाउसफुलको ब्यापार गरेको छ । चलचित्रले शुक्रबार काठमाडौंमा मात्रै ८० लाखको हाराहारी चलचित्रले व्यापार गरेको छ भने मोफसलका हलहरुमा ७७ लाखको व्यापार गरेको छ ।
पहिलो दिननै चलचित्रले १ करोड ५७ लाखको व्यापार गरेको छ । यो नै अहिले सम्म नेपाली फिल्मले पहिलो दिन कलेक्सन गरेको सबै भन्दा ठुलो व्यापार हो ।चलचित्र ‘छ माया छपक्कै’ले पहिलो दिन ऐतिहासिक कमाईको रेकर्ड राख्दै दीपक–दीपाहरुले बनाएको छक्का पन्जा ३ को रेकर्ड तोडेको हो । छक्का पन्जा ३ ले पहिलो दिन १ करोड ५३ लाखको व्यापार गरेको थियो ।
त्यस्तै चलचित्र ‘छ माया छपक्कै’ दोस्रो दिन शनिबार १ करोड ९० लाखको कलेक्सन गरेको छ । यो अहिले सम्म एक दिनमा नेपाली फिल्मले एक दिनमा गरेको सबै भन्दा ठुलो व्यापार हो । यस अघि छक्का पन्जाले एक दिनमै १ करोड ६५ लाखको व्यापार गरेको थियो चलचित्रले शनिबार काठमाडौंमा मात्रै १ करोडको व्यापार गरेको छ भने मोफसलका हलहरुमा ९० लाखको व्यापार गरेको छ । शुक्रबार र शनिबार चलचित्र हेर्नका लागि हलमा दर्शकको भिड थेगी नसक्नु भएको छ ।
ब्यापार सँगै चलचित्रले वर्ड अफ माउथ पनि राम्रो पाएको छ । यसले चलचित्रलाई आगामी दिनको लागि ठुलो फाईदा पुग्ने पक्का रहेको छ । चलचित्र हेरिसकेपछी सामाजिक सन्जालमा सबैले यसको खुलेर तारिफ गरेका छन् ।
दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।
रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।









