३० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको टी–१० लिग कर्नाटका टर्स्कर्सबाट खेल्ने भएका छन् ।
बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए । गत वर्ष भन्दा सन्दीपको पारिश्रमिक १० हजार डलर बढेको छ ।
गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४० हजार डलरमा आबद्ध भएको सन्दीपका सहयोगी रमन सिवाकोटीले जानकारी दिए । सन्दीपको टिम कर्नाटकामा दक्षिण अफ्रिकाका ब्याट्स म्यान हसिम अमला आइकोनीक खेलाडीको रुपमा आबद्ध छन् ।
यस्तै वेस्ट इन्डिजका इभिन लेविस, जोनसन चार्ल्स, फाबियन एलन र मार्लोन स्यामुयल्स पनि कर्नाटकामा आबद्ध भएका छन् । अफगानिस्तानका साइपुर जार्डान र युएईका सिकन्दर राजा पनि सन्दीपको टिममा छन् ।
प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ । १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ ।
सन्दीपको कर्नाटकासँगै टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।