७ कात्तिक, काठमाडौं ।
फिफा वरीयतामा नेपाल ६ स्थान तल खस्किएको छ । विश्व फटुबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयतामा १६१औं स्थानमा रहेको नेपाल ६ स्थाल खस्कदै १६७औं स्थानमा पुगेको हो ।
विश्वकप छनोटमा अष्ट्रेलियासँग ५–० ले तथा जोर्डनसँग ३–० ले पराजित भएको प्रभाव वरीयतामा परेको हो । दक्षिण एसियामा शीर्षस्थानमा रहेको भारत पनि दुई स्थान तल झर्दै १०६औं स्थानमा पुगेको छ । माल्दिभ्स १ स्थान तल झर्दै १५४औं स्थानमा छ ।
बंगलादेश ३ स्थान सुधार गर्दै १८४औं स्थानमा आएको छ । भुटान ४ स्थान तल झर्दै १८९औं स्थानमा पुगेको छ ।पाकिस्तान २ स्थान सुधार गर्दै २०१ तथा श्रीलंका एक स्थान तल झदै २०३औं स्थानमा छ । एसियामा इरान (२७) शीर्षस्थानमा छ भने २८ औँ वरियातमा जापान दोस्रो स्थानमा छ ।
विश्व वरीयताको शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो तथा इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ । उरुग्वे एक स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लदा पोर्चुगल एक स्थान तल झदै छैटौ स्थानमा छ ।