जन्मकैदको सजाय भोगिरहेका कैदी जेलबाटै फरार

जन्मकैदको सजाय भोगिरहेका कैदी जेलबाटै फरार

१ मंसिर, हेटौडा ।
मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट गएराति एक कैदी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका चितवन घर भएका ३० वर्षीय कुलदिप राज धामी (चौधरी) जेलबाट भागेको जिल्ला प्रहरी स्रोतले बताएको छ ।

भरतपुर जेलबाट १५ महिना अघि भीमफेदी कारागार आएका धामीले कारागारको १२ फिट अग्लो पर्खाल नाघेर भागेका हुन्। अरु कैदी बन्दीहरुको सहयोगमा उनी भाग्न सफल भएको अनुमान जेल प्रशासनको छ। क्षेत्रीय कारागार भीमफेदीको क ब्लकमा रहेका धामी सह–नाईके हुन्।

कारागारभित्र सीसीटीभी पनि जडान गरिएको छ। सीसीटीभीले नभेट्ने स्थानबाट उनी भागेका छन्। शनिबार बेलुका ९, १० बजेतिर भागेको हुनसक्ने जेल प्रशासनले बताएको छ।

उनले ५ वर्ष जेल जीवन बिताइसकेका छन्। फरार कैदीको तीव्र रुपमा खोजी भइरहेको जेल प्रशासनले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.