३ मंसिर, एजेन्सी । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेको जनाइएको छ ।
माली र नाइजरका सुरक्षाकर्मीले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ । देशको ताबान्कोर्ट भन्ने ठाउँमा सोमबार ‘आतङ्कवादी’ लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
सोमबार भएको सो घटनाबाट सैनिकतर्फ ठूलो क्षति भएको निश्कर्ष निकालिएको छ । शरद ऋतु मै भएका जिहादीको दुई आक्रमणमा परी सयौ सैनिक मारिएका छन् । मालि, नाइजर र बुर्किनफासोका सीमा क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहहरुको र सरकारी सुरक्षाकर्मी बीचमा बेला बेलामा झडप भइरहने गरेको छ ।
मालीको सेनाले लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ । मालीमा शान्ति स्थापनाका लागि छिमकी केही मुलुकहरु र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरु पनि परिचालन गरिएको छ ।(रासस)
