सडकको ठेकेदारविरुद्ध दोलखावासीहरुद्वारा मानव साङ्लो बनाएर विरोध प्रदर्शन

३ मंसिर, चरिकोट । खाडी चौर-चरिकोट सडकको ठेकेदार विरुद्ध दोलखावासीहरुले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् ।

चरिकोटको सातदोबाटोमा मंगलबार बिहान जिल्लावासीले स्वतःस्फूर्त रूपमा खाडीचौर-चरिकोट सडकको मुडे-चरिकोट खण्डको निर्माणमा ढिलाई गर्ने ठेकेदार दिपक सापकोटाविरूद्ध मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।

मुखमा कालो मास्क लगाएर निस्किएका करिब ५ सय दोलखावासीले मानव साङ्लो बनाएर शंकरमाली निर्माण सेवाका ठेकेदार सापकोटाविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी रमेश खतिवडाले बताए ।

Advertisement

करिब एकघण्टा मानव साङलो बनाएर कालोपत्रेसहितको सडक बनाउन नैतिक दबाव सिर्जना गरेको प्रदर्शनमा सहभागीहरुको भनाई छ । ठेकेदारले अब पनि काम सुरु नगरे रचनात्मक विरोधका थप कार्यक्रम आयोजन गरिने नागरिक अगुवाहरुले बताए ।

यसअघि गत शनिबार दोलखा जिल्लाका स्थानीयले सोही ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसेर विरोध प्रदर्शन गरेका थिए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्‍का लिएको ठेकेदार कम्पनीले चार वर्ष वितिसक्दा समेत पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखा जिल्लाका स्थानीयले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गरेका थिए ।

Advertisement

कालो ब्यानरमा ’कालोपत्रे सहितको बाटो कहिले बन्छ ? चारवर्षसम्म बाटो किन नबनेको हो?’ भनेर प्रश्न गरिएको नागरिक अगुवा मास्केले बताए । सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी ३ जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर-चरिकोट सडकको बिभिन्न खण्डमा ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परिरहेको थियो ।

यात्रुको ज्यान जोखिममा पर्नुका साथै पर्यटन व्यवसाय ठप्प बनेको र अत्यावश्यक सामग्री आयातमा चरम कठिनाई भोग्नु परिरहेको थियो ।

भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार आयोजनाले ढल तथा नालाको व्यवस्थापन सहित कालोपत्रे गर्ने योजना रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top