४ मंसिर, एजेन्सी ।
हंगेरीलाई २–० ले हराउँदै वेल्स अर्को वर्ष हुने युरोपियन च्याम्पियनसिपमा छनोट हुन सफल भएको छ ।
वेल्सले निर्णायक खेलमा हंगेरीलाई पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो । समूह ‘ईं’ मा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो । यो समूहबाट क्रोएसियाले १७ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट हुन सफल भयो ।
कार्डिफमा मंगलबार राति भएको वेल्सलाई जिताउन दुवै गोल आरोन राम्सीले गोल गरे । उनले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको १५औं मिनेटमा राम्सीले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।
४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।
हारसँगै हंगेरीको भने छनोटको सम्भावना सकिएको छ । वेल्समाथि जित निकाल्न सफल भएको भए हंगेरी युरोकपलाई छनोट हुने थियो । हंगेरीले ८ खेलबाट १२ अंक जोड्यो ।