४ मंसिर, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन् ।
तर राजीनामा दिने, नदिनेबारे उनले प्रस्ट पारिकी छैनन् । आफूले राजीनामा दिँदा उपसभामुख पद पनि खालि रहने उनले बताकी छिन् ।
केही समयदेखि उनलाई राजीनामा दिन लगाएर मन्त्री बनाउने र नेकपाले अरु कसैलाई सभामुख बनाउने कसरत गरिरहेको छ ।
उपसभामुख तुम्बाहाम्फे भने आफूले दुई वर्ष उपसभामुखको जिम्मेवारी सम्हालेको र पार्टीले जिम्मेवारी दिए सभामुख बन्न तयार रहेको बताउँदै आएकी छिन् । उनले पार्टीले जसलाई सभामुख बनाए पनि आफूले मान्ने बताउँदै आएकी हुन् ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।