८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो, करातें र आर्चरीमा सहभागिता जनाउनका लागि भारतले गरेको आग्रहलाई नेपालले अस्वीकार गरेको छ ।
आगामी सातादेखि नेपालमा हुने सागको खेलाडी दर्ता मिति चार दिनअघि नै सकिएको थियो । तर भारतले तेक्वान्दो, कराते र आर्चरीमा दर्ता मितिको म्याद सकिएपछि सहभागी गराउन नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गरेको थियो ।

आर्चरीको हकमा भने दक्षिण एसियाली आर्चरी महासंघले भारत सहभागी हुन नपाउने यसअघि नै निर्णय गरेको थियो । नेपालले भारतको आग्रहलाई अस्वीकार गरेसँगै भारतले गर्ने भनिएको करातेंको छनोट रद्द भएको छ ।
यसअघि भारतले मंगलबार करातेको छनोट भुवनेश्वरमा गर्ने जनाएको थियो । तीन वटै खेल ओलम्पिक खेल भएकाले सागमा सहभागी हुन भारतले अन्तिमसम्म प्रयास गरेको हो ।
तर यी संघमा भएका अन्तरिक विवादका कारण भारतले क्षेत्रीय खेलकुदको कुम्भमेला गुमाउने भएको छ । करातेको दुई वटा संघ हुँदा २०१६ मा भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं सागमा प्रतिस्पर्धा नै भएको थिएन ।
गत संस्करणमा भारतले आर्चरीमा सबै १० स्वर्ण र तेक्वान्दोमा १३ मध्ये ५ स्वर्ण जितेको थियो । तेक्वान्दोमा अफगानिस्तानले सर्वा्धिक ६ स्वर्ण हात पारेको थियो । नेपाल भने ७ रजतमै सीमित बनेको थियो ।
अघिल्ला सागमा तेक्वान्दोमा राम्रो प्रदर्शन गरेका भारत र अफगानिस्तान यसपटक सहभागी हुनेछैनन्। जसले नेपाललाई फाइदा पुग्न सक्छ । यसपटकको सागमा करातेमा १९ स्वर्ण, तेक्वान्दोमा २९ स्वर्ण र आर्चरीमा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।