१४ मंसिर, काठमाण्डौ ।
मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९ औं स्थापना दिवसको अवसरमा मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि आफुले काम गर्ने संस्थालाई दावाव दिन आग्रह गरे । उनले होटल सञ्चालकहरुले मजदुरको पैसा चलाउन नपाउने भएकाले सामाजिक सुरक्षामा आवद्ध हुन नचाहेको आरोप समेत लगाए ।
कार्यक्रममा जिफन्ट अनुसन्धान निरीक्षण आयोगका अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षामा सहभागी भएमा श्रमिकहरुको भविस्य सुरक्षित हुने बताउँदै तत्काल कोषमा आवद्ध हुन आग्रह गरे ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका वरिष्ठ उपाध्यक्ष बंशी भट्टराईले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा राम्रो जानकारी नहुँदा दवाव दिन नसकेको बताए । उनले श्रमिकहरुले लिंदै आएको उपदानलाई यथावत राख्ने सम्झौता गरेर सामाजिक सुरक्षामा सहभागी हुन आफुहरु तयार रहेको समेत बताए ।
होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले सामाजिक सुक्षामा जाने विषयमा श्रमिक र व्यवसायीहरुबीच छलफल गरी समस्या समाधान गर्न सकिने बताए । उनले समाजिक सुरक्षामा आवद्ध हुँदा दुई वर्षमा चार किस्ता तिर्नु पर्ने व्यवस्थाले समस्या आएको बताए ।
मजदुरहरुले होटल सञ्चालकहरुले ऐनमा दोहोरो कर बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै समाजिक सुरक्षा कोषमा नगएको आरोप समेत लगाएका छन् ।

