१८ मंसिर, काठमाडौं ।
प्रदेश १ सरकारले कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरिएका हात्तीको सट्टामा गैंडा मागेको छ । कोशी टप्पुको दरबन्दी कटाएर सौरहा लगिएपछि प्रदेश १ मा आउने पर्यटक घट्ने चिन्ता भइरहेका बेला प्रदेश सरकारले गैंडा ल्याउने तयारी गरेको हो ।
अर्ना र चराचुरुङ्गीहरुका कारण प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश सरकारले पहिलोपटक गैंडा राख्न चाहेको हो । कोशी टप्पुमा १० वटा माउ हात्तीको दरबन्दी रहेकामा यहाँबाट ५ माउ हात्ती सौरहा लगिएको थियो ।
प्रदेश १ बाट लगिएका हात्तीको सट्टा गैंडा माग गरिएको प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री जगदिश कुशियतले प्रदेश बताए । मन्त्री कुशियतले भने, ‘हाम्रो हात्ती लगेपछि हामीले गैंडा चाहियो भनेका छौं, हाम्रो गैंडा पनि छैन, ल्याएपछि धेरै राम्रो हुनेछ ।’
कोशी टप्पुमा अहिले माउ र छावा गरी ७ वटा मात्र हात्ती छन् । सरकारले आगामी वर्ष सन् २०२० मा मनाउन लागेको भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा कोशीटप्पु वन्यजन्तु आरक्ष पर्छ ।
वि।सं. २०३२ सालमा स्थापना भएको यस आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । आरक्षको अधिकांश भूभाग प्रदेश १ मै पर्छ । क्षेत्रफलका आधारमा सानो भए पनि नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा यो परिचित छ । आरक्ष सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको थियो ।