२१ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् ।