२८ मंसिर, विराटनगर ।
एकपछि अर्काे सिनेमा हल खुल्दै गएको विराटनगरमा फेरि अर्काे सिनेमा हल थपिएको छ । विराटनगरस्थित भाटभटेनीमा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । रिगल सिनेमाज प्रा.लिको लगानीमा देशका प्रमुख शहरमा सिनेमा चेन रहेको क्यूएफएक्सले सो मल्टिप्लेक्स सञ्चालनमा ल्याएको हो ।
भाटभटेनीको पाँचौँ तलामा अवस्थित मल्टिप्लेक्समा दुईवटा स्क्रिनको हलमा २८ वटा recliner सिटसहित ४२४ सिट क्षमता रहेको छ । मल्टिलेक्सको संरचना निर्माणमा १६ करोड लागत लागेको सञ्चालक नकिम उद्दिनले जानकारी दिए । मल्टिप्लेक्सको शुभारम्भ कार्यक्रममा क्यूएफएक्सका सञ्चालक उद्दिनले क्यूएफएक्समा सिनेमा हेर्दा दर्शकले उत्कृष्ट अनुभव गर्ने बताए । उनले क्यूएफएक्स उत्कृष्ट नेपाली ब्राण्ड भएको भन्दै चलचित्र व्यवसायको लागि विराटनगर महत्वपूर्ण सहर भएकोले क्यूएफएक्स सञ्चालनमा ल्याएको बताए ।
त्यस्तै चलचित्र निर्देशक अशोक शर्माले क्यूएफएक्स दर्शकलाई चलचित्र हेर्न फरक अनुभुती दिलाउने ब्राण्ड भएको बताए । उनले नेपाली चलचित्रहरुले हलिउड र बलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरेको बताउँदै पछिल्लो समय नेपाली चलचित्रहरु पनि उत्कृष्ट बन्दै गएको बताए । मल्टिप्लेक्समा विश्वव्यापी लिडरको रुपमा रहेको डेप्थ् क्यु थ्री डी टेक्नोलोजी प्रयोग गरिएको छ भने दुईवटै स्क्रिनमा Dolby ATMOS sound system प्रयोग गरिएको छ । जसले Enhanced sound Quality प्रदान गर्ने भएकोले दर्शकले उत्तम अडियोसहित उत्कृष्ट अनुभव गर्ने सञ्चालकले दावी गरेका छन् ।
मल्टिप्लेक्समा चलचित्र हेर्नका लागि विकेन्ड (शुक्रबार, शनिबार र आईतबार) २५० र विकडेजमा ३५० टिकट शुल्क लाग्ने मल्टिप्लेक्सका सिईओ रोशन निरौलाले जानकारी दिए । जसमध्ये सुतेर सिनेमा हेर्न मिल्ने recliner सिटमा भने ६५० र ८०० टिकट शुल्क रहेको र मर्निङ शोजहरुमा ५० प्रतिशत छुटको व्यवस्था रहेको उनले जानकारी दिए ।
सिनेमा हेर्नका लागि मोबाईल एप र लोयल्टी प्रोग्राम मार्फत ‘गोजी’बाट पनि टिकट खरिद गर्न सकिने छ । भाटभटेनीमा नयाँ दुई स्क्रिन थपिएसँगै क्यूएफएक्सको जम्मा स्क्रिन संख्या २७ पुगेको छ । सिनेमा हलको हब बन्दै गएको प्रदेश १ को राजधानी विराटनगरमा सेन्ट्रल मल र र सिटी सिनेमाले पनि यसअघि देखि नै हल संचालनमा ल्याई सकेका छन ।