प्रचण्डलाई भेट्न खुमलटार पुगे माधव नेपाल

२८ मंसिर ७६, आइतबार

२९ मंसिर, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको स्थायी समिति बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न खुमलटार पुगेका छन् ।

Advertisement

आइतबार दिउँसो १ बजेबाट नेकपाको स्थायी समिति बैठक बस्दैछ । त्यस अगाडी बैठकका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक पनि बस्दैछ।

अध्यक्ष प्रचण्डले ४ मंसिरमा पार्टी सञ्चालनको कार्यकारी जिम्मा पाएपछि दुई पटक सचिवालयको बैठक राखेर आइतबारका लागि स्थायी समिति बैठक डाकेका हुन् । एक वर्षदेखि स्थायी समिति बैठक बस्न सकेको थिएन।

Advertisement

बैठकमा दाहालले पार्टीको राजनीतिक प्रतिवेदन अनुसार हुने गरी अन्तरिम विधानको प्रस्तावना, वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संसोधन प्रस्तावका साथै आफूले तयार पारेको राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

दुई दिनसम्म कुनै राजनीतिक भेटघाट नगरी प्रचण्डले पार्टीको आगामी कार्ययोजना सहितको १७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार पारेका छन्। त्यो प्रतिवेदन उनले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई देखाएर छलफल गरेका थिए।

Advertisement

प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन र त्यसमा समेटिएका कार्ययोजनादेखि पार्टी स्थायी समिति बैठक सम्मका एजेण्डामा वरिष्ठ नेता नेपालले चासो राखेका छन् । पार्टी सचिवालयमा अहिले उनलाई प्रतिपक्ष नेताका रुपमा हेरिने गरेको छ।

जसकाकारण पनि उनी पक्षधर नेताहरुले यस स्थायी समिति बैठकमा खेल्ने रणनीतिलाई नेकपाभित्र अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपालले आफूले विगतका सचिवालय बैठकमा राखेका फरक मतदेखि सचिवालय विस्तार गरी तत्कालिन एमाले तर्फका तीन उपाध्यक्ष भीम रावल, अष्टलष्मी शाक्य र युवराज ज्ञवालीलाई समेट्नु पर्नेमा पनि जोड गरिरहेका छन्।

स्थायी समितिमा यो विषय नेताहरुले उठाएपनि निर्णयका रुपमा पुग्ने सम्भावना भने कम देखिएको छ। प्रचण्डले भने दुई महिना पार्टी एकताको सन्देश लिएर सात वटै प्रदेशमा राष्टिय अभियान लिएर जानुपर्ने, आगामी माघ पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने लगायतका कार्ययोजना सहितको प्रस्ताव तयार पारेका छन्।

सकभर पार्टी बैठकलाई विवादरहित बनाउने उदेश्यले प्रचण्डले बैठक अगाडी पार्टीभित्र देखिने विभिन्न समीकरणलाई ख्याल गर्दै आन्तरिक छलफल गरिरहेका छन्। त्यही क्रममा उनले अर्का अध्यक्ष ओलीसँग शनिबार दिउँसो आइतबार बिहान नेता नेपालसँग छलफल गरेका हुन् ।

आइतबार बिहानै प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए।

माधव नेपालले प्रचण्डसँग छलफल गर्दा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सँगै रहेको खुमलटार स्रोतले बताएको छ । प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ सँगसँगै खुमलटारबाट बाहिरिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top