३० मंसिर, काठमाडौं । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ । छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् ।
कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ । सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए ।
सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताइन् । सांसद रंगमति शाहीले विधेयकमाथि परेको संशोधनहरु के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरु पछि पनि थप्न सकिने बताइन् ।
सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए ।
केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै उनले सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागि भएको र ६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ ?भनी प्रश्न गरे । उनले एउटा स्तर मापन हुनुपर्ने भन्दै स्तर मान गर्ने भनेको मेडल भएको बताए ।
बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ । समिति सभापति जयपुरी घर्तिले नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक पुस ४ गतेका लागि आह्वान गर्नुभएको छ ।