२१ पौष, काठमाडौं । सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।
केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।
गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
गएको वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उहाँको भनाइ छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उनले बताए । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।
