राष्ट्रियसभाको विशेष समयमा सरकारलाई खबरदारी

राष्ट्रियसभाको विशेष समयमा सरकारलाई खबरदारी

२४ पुस, काठमाडौँ ।
राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विवादास्पद मिडिया काउन्सिल विधेयक, नेपाल विशेष विधेयक र सुचना प्रविधि विधेयक बहुमतका आधारमा पास गर्ने काम भए संविधान प्रदत्त हक नरहने भन्दै मौलिक हक हनन गर्ने काम नगर्न सरकारलाई सचेत गराए ।

सरकार क्षमता प्रर्दशन गरेर लोकप्रिय बन्नुको सट्टा डर, भय र त्रासबाट शासन चलाउने लक्ष्यमा उद्धत रहेको आरोप उनले लगाए । उनले मौलिक हकमा बन्देज लगाउने विधेयकहरुलाई खास विधेयकको रुपमा राखेर राष्ट्रियसभा नियमावलिले गरेको व्यवस्था अनुसार जनतामा लगेर अन्तिम टुंगो लगाउनुपर्ने धारणा राखे ।

राष्ट्रियसभा सदस्य महेशकुमार महराले देशकै सबै भन्दा ठूलो परियोजना पश्चिम सेती परियोजनाको काम अगाडि बढ्न नसकेकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराए । केन्द्रीकृत राज्य संरचनामा पछि परेको सुुदुरपश्चिमका जनताले संघीय शासन प्रणाली पछि पनि राहतको अनुभुति गर्न नसकेको भन्दै त्यस क्षेत्रलाई फेरी पनि पछि पार्ने काम नगर्न सरकारलाई सचेत गराए ।

राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले पशुपति विकास क्षेत्रमा रहेको १८ सय रोपनी जग्गाका पूर्जा पशुपति विकास क्षेत्रको नाममा नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । उनले कोषका नाममा रहेको जग्गाको पूर्जा तत्काल कोषकै नाममा ल्याउने व्यवस्था मिलाउन आग्रह पनि गरे ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले थोत्रा सवारी साधन गाउमा पठाउने काम रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । थोत्रा सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोकेका कारण हुने दुर्घटना र प्राविधि अध्ययन विना जथाभावी डोजर चलाएर समस्या निम्त्याउने काम नरोकिएको भन्दै सडक निर्माणका सिद्धान्त अबलम्बन गरी मानविय क्षतिलाई रोक्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य कालिबहादुर मल्लले विश्वमा अन्तरविरोधका रंगहरु देखापरेको र शित युद्धका बादलहरु मडारिएको अवस्था रहेको भन्दै ती अशान्तीका बादलहरु स्वदेश भित्रन नदिन सबै दलहरुलाई सचेत हुन आग्रह गर्दै यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

यसअघि शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल पार्वतीले चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्तीमा बसेर जंगलीहात्तीले खेतमा लगाएको बाली तथा घर भित्रका अन्नमा पनि क्षति पुर्याएकाले जंगली हात्तीलाई तुरुन्त नियन्त्रण गरी जंगली जनावर र मानवबीचको द्धन्द्ध अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् । युटोल तामाङ्गले आदिवासी जनजातिहरुका आयोग गठनमा ढिलाई भएकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.