९ माघ, काठमाडौँ ।
सरकारले ‘कोरोना भाइरस’ अहिले सम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिले सम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको छ । छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । उनले ‘कारोना भाइरस’ भएको शंका लाग्ने वित्तीकै विशेष एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याउने व्यवस्था समेत गर्न लागिएको बताए । उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिने समेत बताए ।
उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए । उनले ‘कोरोना भाइरस’ लागेमा रुघा लाग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने बताए । यसबाट सुसरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकोले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।