काठमाडौं, चैत ३
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसकेका कारण वातावरण प्रदुषण लगायतका समस्या निम्तिएको बताएका छन् ।
नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शनिबार राजधानीमा उद्घाटन गर्दे मन्त्री पण्डितले विज्ञले आफ्नो विज्ञताको सही ढंगले प्रयोग नगरेकाले समस्या श्रृजना भएको बताए ।
राजधानीको अव्यवस्थित शहरी विस्तारका कारण निम्तिएको नदी नाला प्रदूषणको असर मकवानपुर सम्म पनि देखिने गरेको भन्दै उनले इन्जिनियरहरुलाई ठीक तरिकारले आफ्नो विज्ञता प्रयोग गर्न सुझाव दिए ।
उनले शहरी विकासको डिजाईन परिर्वतन गर्न पनि आग्रह गरे । जलस्रोतको धनी मुलुक नेपालका कयौ भूभाग पछिल्लो समय सिंचाई अभावमा मरभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
हिमालमा हिउँ नपर्ने समस्याबाट हिमाली क्षेत्रको आकार सांघुरो बन्दै गएको उल्लेख गर्दै मन्त्री पण्डितले लगानीको प्रतिफल आउने गरि जनचेतना अभिवृद्धिका काम गर्न आयोजकलाई सुझाव दिए ।