२० माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन् ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो तीन बजे हुँदैछ । लिगमा मनाङ मर्स्याङ्दी १९ अङ्क सहित तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबको २३ अङ्क छ । च्यासललाई हराएमा मनाङले आर्मीसँगको दूरी एक अङ्कमा झार्नेछ । पराजय वा बराबरी भएमा मनाङको उपाधि रक्षाको अभियानमा धक्का लाग्नेछ ।
लिगमा मनाङले अहिलेसम्म पराजय भोगेको छैन । नौ खेल सकिदा मनाङले पाँच जित र चार बराबरीको नतिजा निकालेको छ । च्यासललाई भने रेलिगेसनको दबाब छ । च्यासल नौ अङ्क बनाउँदै १०औं स्थानमा छ ।
च्यासलले जम्मा दुई खेलमा जित निकालेको छ भने तीनमा बराबरी र चार खेलमा पराजय भोगेको छ । सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब प्रतिष्पर्धा गर्नेछन् ।
जावलाखेल तीन जीत, तीन बराबरी र तीन हारका साथ १२ अङ्क बनाउँदै आठौं स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्क सहित एघारौं स्थानमा छ । रेलिगेसनबाट जोगिनका लागि ब्रिगेड ब्वाइजलाई तीन अङ्क महत्वपूर्ण हुनेछ ।