१२ फागुन, पोखरा ।
पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । ३ जना सवार डुंगा पल्टिएकोमा २ जनाको भने उद्दार गरिएको छ ।
डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।
डीएसपी ढकालका अनुसार चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको हो । फेवातालमा डुंगा चढ्दारचलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ । प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।