६ चैत,काठमाडौँ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कारोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि सबै उपाय अपनाइएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा डा. पाण्डेले देशभर रहेका निमोनियाका विरामीको सूची तयार गरी परीक्षण भइरहेको बताए । उनले आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तत्काल काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जानकारी गराउन समेत आग्रह गरे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले देशभर सम्भावित लक्षण देखिएका विरामीहरुको दैनिक परीक्षण भइरहेको बताइन् । उनले परीक्षण भइरहेको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न आग्रह गरिन ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा कोरोना भाइरसको परीक्षण नै हुँदैन, उपचार नै हुँदैन भन्नेगरी आतंकित हुन नहुने बताए । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले भने कोरोना संक्रमित देशभित्र भएको दाबी गरे । उनले सरकारले कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काएको बताए । डाक्टरको सिफारिस बिना आफुलाई शंकालागेमा जाँच्न पाउनुपर्ने र त्यसको बन्दोबस्त सरकारले मिलाउनुपर्ने बताए ।
नागरिक समाजका अगुवा चरण प्रसाईले टेकु अस्पतालले चेकजाँच नगरी बिरामीलाई फर्काइदिएको भन्दै सरकारलाई विश्वास गर्ने आधार नरहेको बताए । उनले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारमा सरकारले खेलवाड गर्न नपाउने बताए ।