७ चैत, एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४२७ जनाको मृत्यु भएपछि सर्वा्धिक नागरिक गुमाउने मुलुक इटाली बनेको छ ।
इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो।
चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान गइसकेको छ । यद्यपी चीनको यो आँकडामाथि धेरैले आशंका व्यक्त गरेका छन् ।
इटालीले कोरोना भाइरसको रोकथामकालागि हरसम्भव प्रयासहरू गर्दै आएको भएपनि मृतक र नयाँ संक्रमितको संख्या कम भइरहेको छैन ।
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटालीले मार्च १२ देखि सुरु गरेको ’लक डाउन’लाई २५ मार्चसम्म बढाएको छ । उसले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक घरैभित्र बस्न भनेको छ ।
विश्वव्यापीरुपमा भने हालसम्म २ लाख २० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ भने ९ हजार बढीले आफ्नो ज्यान गुमाइसकेका छन् ।
संक्रमण सुरु भएयता चीनले बुधबार पहिलोपटक कुनै नयाँ संक्रमित नभेटिएको बताएको छ । उसले देशभित्र नयाँ संक्रमित नदेखिएपनि विदेशबाट आएका ३४ जनामा भने यसको संक्रमण देखिएको जनाएको छ ।
चीनमा कुल ८१ हजार जनामा यो संक्रमण देखिएको थियो भने इटालीमा हालसम्म ४१ हजार ३५ जनामा यो संक्रमण देखिएको छ।