विमानस्थलमा सरसफाई केमिकलको अभाव

विमानस्थलमा सरसफाई केमिकलको अभाव

७ चैत, काठमाडौं । देशभरीका विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाई निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो । सरसफाई अभियन्ता खेम राज शर्माले सीसा र भुई सफा गर्ने छु्टटै केमिकल हरेक विमास्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताए ।

सरसफाई मजदुरहरुको ड्रेस कोड नभएको र उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उनले बताए । सरसफाई मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको उनले बताए ।

सरसफाई रिपोर्ट प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगश भट्टराईले अध्ययन प्रतिवेदनबाट आएका सुझावहरुलाई छ्टिटै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । पहिलो एक महिनामा सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको नभएको विषयमा जानकारी लिने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरीका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाईको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो । अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाई नभएको पाइएकोले सरकारले आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.