१० चैत्र, काठमाडौँ ।
कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने गैरआवासीय नेपाली संघले निर्णय गरेको छ ।
संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।
संघको बैठकले कोषाध्यक्ष महे कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ छ भने उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।
संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत तयारी गरेको छ । यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।
मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।