१२ चैत, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।
कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका हुन् । मेस्सीले गरेको सहयोगलाई अस्पतालले पुष्टि गर्दै कोरोनाविरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।
यस्तै बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले क्याटलान क्षेत्रमा मेडिकल सामाग्री खरिदका लागि ग्वार्डिओलाले समेत १ मिलियन युरो नै सहयोग गरेका छन् । सहयोग रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जानेछ ।
ग्वार्डिओलाको सहयोग रकम अस्पतालमा भर्ना भएका र उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामाग्री खरीदमा खर्च गरिनेछ ।
स्पेन कोरोनाबाट बढी प्रभावित युरोपको दोस्रो मुलुक हो । जसमा क्याटलान क्षेत्र बढी प्रभावित छ । स्पेनमा २ हजार ६ सय ९६ जना मानिसको ज्यान गएको छ । करिब ४० हजार मानिस संक्रमित छन् ।