६ वैशाख, एजेन्सी ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरसविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री केजरिवालले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका कुनै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइ कर्मचारी र अस्पतालका कुनै कर्मचारीको निधन भएमा उनीहरुको परिवारलाई दिल्ली सरकारले क्षतिपूर्ति स्वरुप एक करोड भारतीय रुपैयाँ दिनेछ ।
दिल्लीमा ७० वटा सरसफाइ मेसिन राखिएको बताएका छन् ।
उनले नागरिकलाई सामाजिक दूरी कायम गर्नसमेत अपिल गरेका छन् । उनले भने, दिल्लीमा ७१ वटा संक्रामणको जोखिम क्षेत्र घोषणा गरिएका छन् । सबैले घरभित्रै बसेर कोरोनाविरुद्धको लडाइँलाई सहयोग गर्न अपिल गर्दछु । भारतमा हालसम्म कोरोना संक्रमणबाट ४८८ जनाको मृत्यु भएको छ भने १४ हजार ४२५ जनालाई संक्रमण भएको छ ।