१० वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २८ जना घाइते भएका छन् जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको रामेछाप जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस यात्रु बोकेर दोलखाको मालुखोला जाँदै गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई मन्थलीस्थित तामाकोसी अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। अरु घाइतेको अवस्था सामान्य रहेको छ ।
लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको हो । गए राति पनि दर्जनौं बसहरु यात्रु लिएर रामेछाप भित्रिएका थिए ।
