१० वैशाख, विराटनगर।
उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले संचारमाध्यमलाई जानकारी दिए। उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए।
यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्। योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। मंगलबार मात्र सोही बस्तीका ११ जनामा कोरोना देखिएको थियो।
केहि समय अघि भुल्केकै एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ। वस्तीमा सुरक्षाकर्मी खटिएका छन्।