१९ बैशाख, मेलम्ची ।
चौध दिनदेखि हराइरहेका सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–४ का सुरज लामालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
रसुवा नुवाकोट र सिन्धुपाल्चोक सीमा क्षेत्र सूर्यकुण्ड फेदीबाट उद्धार गरी उनलाई काठमाडौं लगिएको छ । लकडाउनका कारण पैदल हिँडेर घर आउँदै गरेका उनी ७ वैशाखमा रसुवास्थित सूर्यकुण्ड भन्ने स्थानमा हिउँमा फसेका थिए । १० दिनसम्म हिउँमा फसेका उनी ११ औँ दिनमा हिउँबाट निस्किन सफल भएर सूर्यकुण्ड फेदीस्थित गोठमा बसेका थिए ।
वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका थिए । सुरजले आफू ८ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका थिए । सुरजलाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र नेकपा केन्द्रीय सदस्य माधव सापकोटको विशेष पहलमा उद्धार गरिएको हो ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए । उनी रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनमा कार्यरत थिए । वैशाख ६ गते मेलम्ची हुँदै घर हिँडेका उनी गोसाइँकुण्डको तारेभिरमा फसेका थिए ।
श्रीमतीको हत्या
हेलम्बु गाउँपालिका–७ बङ्गारेमा एक जनाको हत्या भएको छ । बिहीबार दिउँसो रामबहादुर तामाङले ३० वर्षीया श्रीमती अस्मिता तामाङलाई भैँसी बाँध्ने काठको किलोले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकामा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिए । निज रामबहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।रासस
