३ जेष्ठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ।
कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन–आश्रित २७ औँ स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेका छैन। दुई वर्षअघि आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।
२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो। रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो ।
भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ । बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रहस्यमय दासढुंगा घटनाको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
२७ औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प व्यक्त गरेका छन्।