५ असार, काठमाडौं । बुधबार गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवाबाट आपत्तिजनक म्यासेज प्रवाह भयो ।
मन्त्रालयले कर्मचारीहरूलाई मिटिङमा बोलाउन परे तथा केही सूचना दिन परेमा त्यहाँबाट एसएमएस प्रवाह हुने गरेकोमा बुधबार दिउँसो २ बजे आपत्तिजनक म्यासेज प्रवह भएको थियोे ।
मेसेज आएपछि गृहमन्त्रालयले बुधबार साँझ नै प्रेस विज्ञप्ति जारी गर्दै उक्त सूचना मन्त्रालयबाट सम्प्रेषण नभएको जानकारी दिएको छ ।
सन्देश नेपाली अक्षर प्रयोग गरिएको थियो । अन्तिममा अंग्रेजी अक्षरमा ‘गभर्मेन्ट अफ नेपाल’ लेखिएको थियो । सन्देशको सार, ‘क्षेत्रीय शान्ति स्थापनाका लागि एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने थियो । कूटनीतिक रूपमा असर पुग्ने खालको एसएमएस सचिवदेखि मन्त्रालयका सबै कर्मचारीको मोबाइलमा पुगेको हो ।
म्यासेज पाउनेबित्तिकै मन्त्रालयका ‘प्राविधिक कर्मचारी’ बोलाएर एसएसएस सेवा प्रणाली बन्द गर्न लगाइयो । तत्कालै उक्त प्रणालीको पासवर्ड परिवर्तन गरियो । त्यसपछि गृह मन्त्रालयले एसएमएस सेवा हयाक भएको विषयमा विज्ञप्ति जारी गर्दै छानबिन गर्न प्रहरी प्रधान कार्यालयमार्फत साइबर ब्युरोलाई जिम्मा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनधिकृत रूपमा एसएमएस सेवा ह्याक गरी गलत सन्देश प्रवाह गरिएको र यसको छानबिन सुरु भइसकेको बताए । गृहको ‘एसएमएस सिस्टम’ हयाक गरेको विषयमा ब्युरोले प्रहरी निरीक्षक प्रवीण ताम्राकारको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।