आफ्नो सामर्थ्यले भ्याएसम्म सार्वजनिक यातायात सञ्चालनका लागि सहयोग गरिने छः प्रधानमन्त्री

आफ्नो सामर्थ्यले भ्याएसम्म सार्वजनिक यातायात सञ्चालनका लागि सहयोग गरिने छः प्रधानमन्त्री

१ साउन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गरिने बताएका छन् ।

कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्य अनुरुप समाधानमा अग्रसर रहने बताए ।

“कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ”, प्रधानमन्त्री ओलीले भने, “सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिएहुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो ।

सार्वजनिक यातायात सञ्चालन गर्न केकस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ ।” सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदूर सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गरेका थिए ।

प्रतिनिधिमण्डलमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी तथा सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर सङ्घका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर सङ्घका धर्मराज भण्डारी सहभागी थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.