२० साउन, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३४ जना संक्रमितमध्ये दुई जना बारा, एक जना सर्लाही र एक जना सुर्खेतका छन् । संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतलका फिजिसियन डा निरजकुमार सिंहका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो ।
नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई जनामा पनि कोरोना देखिएको छ । संक्रमित दुई चिकित्सक नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन् । यहाँ रहेको आर्मी ब्यारेकका थप ३ जना सेनाका जवानमा समेत कोरोना पुष्टि भएको छ ।
पर्साको पोखरिया नगरपालिका २ का तीन जनामा समेत कोरोना देखिएको छ । अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका बासिन्दा हुन् । स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा पनि कोरोना देखिएको छ ।
यसैगरी कन्ट्याक्ट ट्रेसिङको क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका दुई संक्रमित कलैया र फेटा ४ का बासिन्दा हुन् ।