२९ साउन, काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता आज बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता तय भएको हो ।
यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।
पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।
अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।
पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए ।
यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।
दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।
बुधबार एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।