८ भाद्र, काठमाडौं ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहारको विरोधमा मानवअधिकार तथा शान्ति समाजले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
समाजले दोषीमाथि कारबाहीको मागसमेत गरेको छ । स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, सञ्चारकर्मीको संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडिमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको र उनीहरुको कर्मप्रति प्रशंसा गरे । उनीहरुले सदैव सबैले सम्मान र सहयोग गर्न आग्रहसमेत गरे ।
प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता रहेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले विज्ञप्तिमार्फत जनाएकी छन् ।