८ भदौ, बैतडी । कोरोना संक्रमणलाई नियन्त्रण गर्न बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
सोमबार राति १२ बजेदेखि आउँदो १४ गते राति १२ बजेसम्म लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी हुने भएको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र गौरापर्व पनि सुरु भएकाले भिडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा गरेको छ ।
अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने भएका छन् । यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाउने छैनन् भने बाहिर निस्कनु परेमा अनिवार्य मास्कको प्रयोग गर्नु पर्नेछ ।
यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने गाडीबाहेक अन्य गाडी प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक गाडीमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ।