आज नेकपा स्थायी कमिटी बैठक बस्दै

२६ भदौ, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवादका कारण पटक–पटक अवरुद्ध हुँदै आएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतीमा आजका लागि बोलाईएको हो ।

Advertisement

बैठकका लागि आवश्यक गृहकार्य सकिएको जनाईएको छ । अध्यक्षद्वय ओली र प्रचण्डको अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्नेे जानकारी नेकपा महासचिव बिष्णु पौडेलले दिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाएको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् । त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

Advertisement

नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको प्रस्तावमा समेटिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने विषय समेत छलफलमा प्रस्तावित छ । सरकार संविधानको रक्षा एवं कार्यान्वयन, राष्ट्रिय हित र स्वाधीनताको संरक्षण एवं सबलीकरण, स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको अनुशरण, लोकतन्त्रलाई जीवन पद्धतिका रूपमा अवलम्बन गर्ने प्रस्ताव छ ।

Advertisement

नेपाली भूमिबाट भारतीय फौज हटाउन र अतिक्रमित नेपाली भूमिमा नेपालको राजनीतिक तथा प्रशासनिक हकभोग स्थापित गर्न जरुरी रहेको अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।

सरकारले सीमा अतिक्रमणविरुद्ध कदमको तत्काल प्रतिवाद गरेको उल्लेख गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीको बैठकबाट नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधनसहितको ऐतिहासिक निर्णयका लागि प्रधानमन्त्री तथा सरकारलाई धन्यवाद प्रस्ताव गरेका छन्  । नेकपाले भारतलाई ऐतिहासिक तथ्यको सम्मान गर्न, सुगौली सन्धि अनुसार कालीपूर्वका सबै भूभाग नेपालका हुन् भन्ने यथार्थलाई स्वीकार गर्न र नेपालको भौगोलिक अखण्डताको कदर गर्न आग्रह गर्दै वार्ताद्वारा समस्याको समाधान गर्न अध्यक्षद्वयको प्रस्तावमा उल्लेख छ ।

तर, उक्त सहमति प्रतिवेदनमा आफ्नो अडान प्रवेश नपाएको भन्दै वरिष्ठ नेता माधव नेपाल भने असन्तुष्ट नै रहेका छन् । पार्टी एकतादेखि नै नेता नेपालले पार्टीमा एक व्यक्ति एक मुख्य जिम्मेवारी लागु हुनुपर्ने कुरा उठाउँदै आएका थिए । उनले अध्यक्षद्वयको प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका छन् । उनले यसको बारेमा अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार नै भेट गरी जानकारी गराइसकेका छन् भने साँझ आफू निकट केही स्थायी समिति सदस्यसँग पनि अलग्गै परामर्श गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top